शेयर बजार झिनो सुधारः कारोबार भने साढे ४ अर्बमा खुम्चियो, लगानीकर्ताको मनोबल किन कमजोर ?

काठमाडौं । पछिल्ला दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । कारोबार सुरु भएदेखि नै बजारमा उतार–चढाव भए पनि समग्र सूचक केही अंकले उकालो लाग्दै हरियोमा बन्द भएको हो ।
पछिल्ला केही दिन यता लगातारको गिरावटसँगै बजारमा कारोबार रकम पनि क्रमशः घट्दै गएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ भने सम्पत्ति मूल्यमा आएको गिरावटले बजारप्रति थप दबाब सिर्जना गरेको छ । विशेषगरी छोटो अवधिका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न सेयर बिक्री बढाउँदा बजारमा बिक्री चाप अझै कायम रहेको देखिन्छ ।
यसैबीच, केही व्यक्ति तथा व्यावसायिक समूहसँग सम्बन्धित अनियमितता र कारबाहीसम्बन्धी समाचार सार्वजनिक भएपछि त्यसको मनोवैज्ञानिक असर पनि बजारमा परेको बताइएको छ । यस्ता घटनाले लगानीकर्तामा अनिश्चितता बढाएको र सतर्कता अपनाउने प्रवृत्ति बलियो बनेको विश्लेषण गरिएको छ । तर नियामक निकायले भने बजारसँग प्रत्यक्ष रूपमा सबै घटनालाई जोड्न नहुने भन्दै नियमित अनुगमन जारी राखेको छ ।
बजार विश्लेषकहरूका अनुसार हाल देखिएको गिरावट मुख्यतः अल्पकालीन मनोवैज्ञानिक दबाबका कारण भएको हो । ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीको स्थायित्व तथा समग्र अर्थतन्त्रका आधारभूत सूचकमा देखिएको सुधारले दीर्घकालीन रूपमा पुँजीबजारलाई सकारात्मक आधार दिने अपेक्षा गरिएको छ ।
यद्यपि तत्कालका लागि बजारमा विश्वास पुनःस्थापना हुन स्पष्ट नीतिगत संकेत र स्थिर वातावरण आवश्यक रहेको उनीहरूको धारणा छ । लगानीकर्तामा आत्मविश्वास बढाउन पारदर्शिता, सूचना प्रवाहको सुधार र स्थिर नीतिगत व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि विश्लेषकहरूले दिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











