एनआरएन लगानी भित्र्याउने पहल, पुँजी बजार विस्तारतर्फ सरकारको रणनीतिक कदम

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा पुँजी बजारको संरचना विस्तारलाई समेत समेट्दै सुधारको खाँचो औंल्याइएको छ।
श्वेतपत्रअनुसार २०८२ फागुनसम्म पुँजी बजारमा कुल २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्विटीको हिस्सा अत्यधिक रूपमा ९९.४ प्रतिशत रहेको देखिएको छ, जसले बजारमा विविधीकरणको अभाव रहेको संकेत गर्छ। सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान भए पनि दोस्रो बजारमा ती उपकरणहरूको कारोबार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको तथ्य पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
बजार पुँजीकरणतर्फ हेर्दा, २०७३ असारमा कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत रहेको बजार पुँजीकरण २०८२ फागुनसम्म आइपुग्दा ७७.७ प्रतिशत पुगेको छ। यद्यपि, यस अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको प्रभुत्व भने घट्दो क्रममा देखिएको छ। २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको यी क्षेत्रहरूको योगदान २०८२ फागुनमा घटेर ५२.२ प्रतिशतमा सीमित भएको छ, जसलाई बजार संरचनामा सकारात्मक परिवर्तनको संकेतका रूपमा पनि व्याख्या गरिएको छ।
सरकार गठनअघि २०८२ चैत ११ गते नेपाल स्टक एक्सचेञ्ज सूचकाङ्क २,९५०.१६ बिन्दुमा रहेको उल्लेख गर्दै श्वेतपत्रले बजारमा उतारचढाव र अस्थिरताको अवस्थालाई पनि संकेत गरेको छ।
अर्थमन्त्री वाग्लेले पुँजी बजारको दायरा फराकिलो बनाउँदै उत्पादनमूलक तथा वास्तविक क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेश गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, गैरआवासीय नेपालीको लगानी भित्र्याउने, सरकारी ऋणपत्रसहित समग्र ऋणपत्र बजारको विकास गर्ने र यसका लागि आवश्यक कानुनी सुधार तत्काल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
श्वेतपत्रमा दोस्रो बजार कारोबारलाई पारदर्शी, विश्वसनीय र स्थिर बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।











