७२ लाख पर्ने किङलङको १६ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक, ४०० किमि रेन्ज

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको बजार तीव्र रूपमा विस्तार हुँदै गएको सन्दर्भमा सिजी मोटर्सले किङलङ ब्रान्डको नयाँ १६ सिटे इलेक्ट्रिक मिनीबस सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको महाराजगञ्जस्थित शोरुममा आयोजित विशेष कार्यक्रममा उक्त मिनीबस औपचारिक रूपमा अनावरण गरिएको हो ।
सिजी मोटर्सले उक्त १६ सिटे इलेक्ट्रिक मिनीबसको बजार मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ । साथै, लन्चिङ अफर अन्तर्गत ग्राहकलाई आकर्षित गर्न विशेष छुट योजना पनि सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार गाडी खरिद गर्ने प्रारम्भिक ग्राहकहरूले २ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यो मिनीबस विशेष रूपमा नेपाली भूगोल, सडक अवस्था र सार्वजनिक यातायातको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । गाडीमा ७५.४ किलोवाट क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसलाई सुरक्षा, टिकाउपन र दीर्घायुका दृष्टिले विश्वसनीय प्रविधि मानिन्छ ।
एक पटक फुल चार्ज गर्दा यो मिनीबसले करिब ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसले लामो दूरीको यात्राका साथै ग्रामीण तथा पहाडी रुटहरूमा पनि सहज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । यो इलेक्ट्रिक मिनीबसमा १२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले पर्याप्त पावर र टर्क प्रदान गर्ने कम्पनीको भनाइ छ । साथै, २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले नेपाली कच्ची सडक, उकालो–ओरालो र पहाडी भूभागमा पनि सहज सञ्चालन सम्भव बनाउने बताइएको छ ।
गाडीको इन्टेरियर डिजाइन यात्रुहरूको आरामलाई प्राथमिकतामा राखेर तयार गरिएको छ । आरामदायी फोल्डिङ सिटहरूको व्यवस्था गरिएको छ भने उभिएर यात्रा गर्न मिल्ने पर्याप्त हेडरुम पनि उपलब्ध छ ।
सिजी मोटर्सका कमर्सियल सेग्मेन्ट बिजनेस हेड बद्री भट्टराईका अनुसार यो मिनीबस सार्वजनिक गर्नुअघि नेपालका विभिन्न दुर्गम पहाडी क्षेत्रमा लामो परीक्षण गरिएको थियो । उनका अनुसार डडेलधुरा, कालीकोट, मुस्ताङ र सोलुखुम्बुजस्ता कठिन भौगोलिक क्षेत्रमा करिब दुई महिनासम्म परीक्षण सञ्चालन गरिएको थियो ।
नेपालको ईभी बजारमा पछिल्लो समय विभिन्न ब्रान्डहरू प्रवेश गरिरहेका बेला किङलङको १६ सिटे मिनीबसले सार्वजनिक यातायात सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्काउने अनुमान गरिएको छ । ४०० किलोमिटर रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो सिट क्षमताका कारण यो गाडी शहरी तथा ग्रामीण दुबै रुटमा उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।











