माछापुच्छ्रे बैंकको नाफा अर्ब क्लबमा, अधिकांश सूचकमा देखियो उल्लेख्य प्रगति

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचनामा उल्लेख सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत्र मसान्तसम्मको अवधिमा २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर २ अर्ब ४० करोढ १ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको चुक्तापूँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख सञ्चिति र वितरणयोग्य नाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर बजार मूल्य २५२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८.१ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि ४.५९ प्रतिशतबाट घटेर ४.०१ प्रतिशत पुगेको छ ।











