गुराँस लघुवित्तको नाफा ४८ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खुद नाफा ४८.७४ प्रतिशतले बढेको छ।
गत आवको चैत मसान्तसम्म २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आवको चैत मसान्तसम्म भने ४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ९२ लाख रुपैयाँबाट ४९.५७ प्रतिशतले बढेर १३ करोड ३४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ११ करोड १ लाख रुपैयाँबाट ३३.८१ प्रतिशतले वृद्धि भई १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा पनि गत आवको चैत मसान्तमा ३ करोड ८७ लाख रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म ४३ प्रतिशतले बढेर ५ करोड ५३ लाख रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ५ करोड ९१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको वितरणयोग्य मुनाफा गत आवको चैत मसान्तसम्म २ करोड ५१ लाख रुपैयाँ रहकोमा चालू आवको सोही अवधिमा बढेर ३ करोड २१ लाख रुपैयाँ नाघेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ४०.६२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६८.९१ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट बढेर ३.४१ प्रतिशत कायम भएको छ। कम्पनीले २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी ५८ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।











