प्रभु बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा ८.८४ प्रतिशत

१५ बैशाख २०८३, मंगलवार ०७:४३

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफामा उच्च गिरावट आएको छ भने खराब कर्जा बढ्न पुगेको छ।

गत आवको चैत मसान्तसम्म १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५४.६१ प्रतिशत अर्थात् आधाभन्दा बढीको गिरावट सहित खुद नाफा ८५ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँबाट सामान्य बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ६१ करोड ९० लाख रुपैयाँबाट सामान्य बढेर ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा सामान्य वृद्धि देखिएको भए पनि समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँबाट ३४ प्रतिशतको गिरावट सहित २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा खुम्चिन पुगेको छ। यससँगै वितरणयोग्य मुनाफा ३ अर्ब ३९ करोड ४३ लाख रुपैयाँ ऋणात्मकबाट बढेर ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ५.०९ प्रतिशतबाट ८.८४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा सीमित भएको छ। बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४६.२६ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चिति रहको छ। बैंकले चैत मसान्तसम्म ग्राहकमा २ खर्ब २१ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ३५ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*