विकास बैंकको नाफा ४९% ले बढ्योः गरिमालाई पछ्याउँदै मुक्तिनाथ, वृद्धिदरमा आक्रामक लुम्बिनी र ज्योति

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले ९ महिनामा साढे ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्ने विकास बैंकमा गरिमा पहिलो नम्बरमा रहेको छ । ९ महिनामा बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२.९१ प्रतिशतले बढी हो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको नाफा ३० प्रतिशतले बढेर ९४ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

तेस्रो त्रैमाससम्मको अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५३.३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख, ज्योति विकास बैंकको १०५ प्रतिशतले बढेर ६२ करोड ९४ लाख र कामना सेवा विकास बैंकको १९.३७ प्रतिशतले बढेर ५८ करोड ८६ लाख रुपैयाँ पुगेको हो ।
सर्वाधिक नाफा बढाउनेमा लुम्बिनी विकास बैंक अघि रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्मको अवधिको भन्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०२८ प्रतिशतले बढेर ५६ करोड १६ लाख रुपैयाँ पुगेको हो ।
यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ ।











