स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा सहित अधिकांश सूचकमा गिरावट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आज प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा सहितका अधिकांश सूचकहरूमा गिरावट देखिएको छ।
गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब १७ करोड ३७ लाख रुपैयाँबाट ४.२४ प्रतिशतले घटेर २ अर्ब ८ करोड १६ लाख रुपैयाँमा झरेको छ भने खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ७ लाख रुपैयाँबाट १० प्रतिशतले घटेर २ अर्ब ९१ करोड ४७ लाख रुपैयाँमा झरेको छ।
यता बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ३९ लाख रुपैयाँबाट ४.४७ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३२ करोड २१ लाख रुपैयाँबाट १०.५५ प्रतिशतले घटेर २ अर्ब ९७ करोड १४ लाख रुपैयाँमा झरेको छ।
प्रतिशेयर आम्दानी २१.६५ रुपैयाँबाट घटेर २०.७३ रुपैयाँमा कायम हुँदा वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड १६ लाख रुपैयाँबाट ७.९४ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ४७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। खराब कर्जा १.८१ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१८.५९ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १० अर्ब ४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले चैत मसान्तसम्म ग्राहकमा ६८ अर्ब ४७ करोड कर्जा लगानी गरी १ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य १ खर्ब ७५ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ।











