विद्यालयमा झुट्टा बिलमार्फत ९३ लाख हिनामिना, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत मा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरेका हुन्। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा भवन निर्माण बाहेक पनि दुवै जनाले आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयको नगद मौज्दात हिनामिना गरेको खुलेको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु कायम गरेको र १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आयोगको आरोप छ।
आयोगले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय तथा जरिवाना गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।











