आज साँझदेखि ४ प्रदेशमा हावाहुरीको जोखिम, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार वैशाख १६ गते बुधबार साँझदेखि विभिन्न प्रदेशका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना रहेको हो।
विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपास, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा साँझ ५ः४५ बजेदेखि हावाहुरी शुरु भई भोलि बिहान ७ः४५ बजेसम्म रहने अनुमान गरिएको छ।
साथै मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको विभागले जनाएको छ। यस्तो अवस्थाले रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च रहनेछ। प्रभावित क्षेत्रका बासिन्दा तथा यात्रा गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
हावाहुरीका बेला सकेसम्म घरभित्रै बस्न, झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न, कमजोर छाना बलियो बनाउन तथा आगोको प्रयोगमा विशेष सावधानी अपनाउन भनिएको छ। त्यसैगरी अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएका तार नछुन र उडेर आउने वस्तुबाट हुनसक्ने चोटपटकप्रति सचेत रहन पनि आग्रह गरेको छ। प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन र आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।












