वाणिज्य बैंकको प्रतिशेयर आम्दानीमा सुधार: सात बैंकको ईपीएस २० रुपैयाँमाथि, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिको रिपोर्ट अनुसार अधिकांशको प्रतिशेयर आम्दानी बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकहरुको प्रतिशेयर आम्दानी औसतमा १७.०१ रुपैयाँ रहेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.४८ रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४.५३ रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको ईपीएस घटेको छ ।
यसअवधिसम्म सबैभन्दा धेरै ईपीएस नबिल बैंकको रहेको छ । बैंकको ईपीएस ७.९७ रुपैयाँले बढेर ३३.०२ रुपैयाँ पुगेको हो ।

साथै, ९ महिनाको अवधिसम्म आइपुग्दा एभरेष्ट बैंकको ईपीएस ३२.३५ रुपैयाँ, नेपाल बैंकको २५.३४ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २३.५५ रुपैयाँ र सानिमा बैंकको २२.९२ रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै ईपीएस वृद्धि गर्ने बैंकमा भने कुमारी बैंक रहेको छ । बैंकको ईपीएस गत आवको तुलनामा १९.७९ रुपैयाँले बढेर २१.२४ रुपैयाँ पुगेको छ।
सबैभन्दा कम ईपीएस हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकको ईपीएस १२.२९ रुपैयाँ रहेको हो । साथै, ग्लोबल आईएमई बैंकको १५.४० रुपैयाँ र नेपाल एसबिआई बैंकको १७.१९ रुपैयाँ रहेको हो । करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी हो ।











