एमआरपी कार्यान्वयनमा व्यवहारिक जटिलता देखिएको भन्दै व्यवसायीको नीतिगत पुनरावलोकन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवालयमा आयोजित विशेष छलफलमा उद्योगी–व्यवसायीहरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी वर्तमान व्यवस्थाले बजारमा व्यावहारिक समस्या सिर्जना गरेको भन्दै नीतिगत पुनरावलोकनको माग गरेका छन्।
‘एमआरपी सम्बन्धी बजार समस्या’ शीर्षकमा भएको उक्त अन्तरक्रियामा सहभागी व्यवसायीहरूले हाल लागू गरिएको प्रणाली एकै ढाँचामा सबै वस्तुमा लागू गर्दा व्यवहारिक कठिनाइ देखिएको धारणा राखे। उनीहरूले वस्तुको प्रकृति र बजार संरचनालाई आधार बनाएर एमआरपी कार्यान्वयनलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
छलफलमा सहभागी व्यवसायीहरूले प्रारम्भिक चरणमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुहरूमा मात्र एमआरपी अनिवार्य गर्नुपर्ने र अन्य विलासिताका सामान, प्रविधि तथा विशेष प्रकृतिका उत्पादनहरूमा भने यसलाई वैकल्पिक वा स्वेच्छिक बनाउनुपर्ने धारणा व्यक्त गरे। उनीहरूको भनाइमा सबै वस्तुमा एकै प्रकृतिको नियम लागू गर्दा आपूर्ति शृंखला र मूल्य निर्धारण प्रक्रियामा अनावश्यक जटिलता थपिएको छ।
आयातित वस्तुहरूको सन्दर्भमा पनि सहभागीहरूले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाए। विशेषगरी भन्सार विन्दुमै एमआरपी अनिवार्य गर्दा विभिन्न प्राविधिक तथा व्यवहारिक समस्या देखिएको उनीहरूको दाबी थियो। यसले आयात प्रक्रिया ढिलो हुनुका साथै लागत र प्रशासनिक झन्झट बढाएको उनीहरूले बताए। विकल्पका रूपमा आयातपछि अर्थात् ‘पोस्ट इम्पोर्ट स्टेज’ मा लेबलिङ गर्ने व्यवस्था प्रभावकारी हुन सक्ने सुझाव पनि छलफलमा उठाइएको थियो।
चीन लगायत एमआरपी प्रणाली अनिवार्य रूपमा लागू नभएका मुलुकबाट आयात हुने वस्तुहरूको हकमा विशेष व्यवस्था आवश्यक रहेको व्यवसायीहरूको भनाइ थियो। त्यस्ता देशबाट आउने सामानमा सिधै भन्सारमै मूल्य निर्धारणको दायित्व तोक्दा व्यवहारिक कठिनाइ बढ्ने र व्यापार प्रवाह प्रभावित हुने उनीहरूको तर्क थियो।
कार्यक्रममा सहभागीहरूले खुला बजार अर्थतन्त्रको मर्म, अन्तर्राष्ट्रिय व्यापार अभ्यास र उपभोक्ता हितलाई सन्तुलनमा राख्ने गरी एमआरपी सम्बन्धी नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनीहरूको भनाइमा बजार अनुशासन कायम गर्नु आवश्यक भए पनि त्यसले व्यवसायिक सहजता र आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्नु हुँदैन।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू कल्पना गैरे, युवराज राज भण्डारी, मञ्जु कुमार कोजु र राजकुमार न्यौपानेको उपस्थिति रहेको थियो। त्यस्तै, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि सहभागिता थियो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, नेपाल हिमाल सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्की, राष्ट्रिय व्यापार संघका अध्यक्ष हिमलाल खरेल तथा एकता व्यापार संघका अध्यक्ष तेजप्रसाद आचार्यलगायतका व्यवसायिक प्रतिनिधिहरूले पनि आफ्ना धारणा राखेका थिए।











