बुक बिल्डिङबाट आईपीओ: नर्भिकले योग्य संस्थागत लगानीकर्तासँग माग्यो आशयपत्र

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड ले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रियालाई अगाडि बढाउँदै योग्य संस्थागत लगानीकर्तासँग गोप्य शिलबन्दी आशयपत्र माग गरेको छ।
कम्पनीले सूचना जारी गर्दै इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूलाई आगामी वैशाख २१ गते बेलुका ५ बजेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आफ्नो शिलबन्दी आशयपत्र बुझाउन आह्वान गरेको हो। प्राप्त भएका आशयपत्रहरू वैशाख २२ गते बेलुका ५ बजे नेप्सेकै कार्यालयमा खोलिने उल्लेख गरिएको छ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ४१ हजार २०० कित्ता सेयर निष्कासन गर्ने योजना बनाएको छ। जसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता साधारण सेयर संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यस प्रक्रियापछि प्राप्त आशयपत्रका आधारमा सेयरको ‘कट-अफ’ मूल्य निर्धारण गरिनेछ। त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।
यससँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने यो तेस्रो कम्पनी बन्ने भएको छ। यसअघि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स ले यस विधिबाट आईपीओ निष्कासन गरिसकेका छन्।











