निजी क्षेत्रको नेतृत्वमा ढकालको दाबेदारी: अनुभव र ‘जेनजी’ टिमसहित अर्थतन्त्र उकास्ने अठोट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको वर्तमान आर्थिक चुनौती र प्रतिकूल वातावरणमा निजी क्षेत्रको नेतृत्व गर्न अनुभवी र व्यावसायिक टिमको आवश्यकता रहेको बताएका छन्।
महासंघको आसन्न निर्वाचनका सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार ढकालले आफ्नो टिमले नयाँ सरकारका चुनौती र सम्भावनालाई चिर्दै निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे। आफ्नो प्यानलमा पुरानो र नयाँ पुस्ताको उत्कृष्ट सन्तुलन रहेको उल्लेख गर्दै उनले मिश्रित नेतृत्वले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार टिममा सचिन ढकाल र जश श्रेष्ठ जस्ता ‘जेनजी’ पुस्ताका नवप्रवर्तनकारी उद्यमीदेखि गोपाल खनाल, शैलेन्द्र गोरागाइँ, अविनाश बोहोरा, सुनिलनारायण श्रेष्ठ र डा. रामशरण थपलिया जस्ता अनुभवी व्यक्तित्वहरू समावेश छन्। यस्तो संयोजनले स्टार्टअप, इनोभेसन र परम्परागत उद्योग सबैको प्रतिनिधित्व गर्ने उनको भनाइ छ।
निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र रोजगारीमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्याए पनि राज्यको प्राथमिकतामा पर्न नसकेकोमा ढकालले चिन्ता व्यक्त गरे। विशेषगरी अनुसन्धानका नाममा व्यवसायीहरूलाई बिनाप्रमाण थुनामा राख्ने प्रक्रियाप्रति उनले आपत्ति जनाए।
आफ्नो कार्यकालमा कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन तथा बहुदर कर प्रणालीका लागि पहल गरिएको उल्लेख गर्दै उनले ती प्रयासलाई अझ संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
ढकालले अबको नेतृत्वले ‘निजी क्षेत्र संरक्षण र प्रवर्द्धन रणनीति’ (पीएसपीपी) कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। वर्तमान सरकारले अघि सारेको १०० दिनको कार्ययोजना र अर्थमन्त्रीले दिएका आश्वासनहरू निजी क्षेत्रमैत्री देखिए पनि व्यवहारमा अझै समस्या रहेको उनको भनाइ छ।
१५ वटा पुराना कानुन खारेजी र राजश्व अनुसन्धान विभागको पुनर्संरचना जस्ता सकारात्मक घोषणा भए पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अपेक्षित परिवर्तन हुन नसकेको उनले औँल्याए।











