व्यवसायी शेखर गोल्छामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

१७ बैशाख २०८३, बिहीबार १४:२२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरुद्ध भइरहेको अनुसन्धानका लागि थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ।

बिहीबार भएको सुनुवाइपछि अदालतले गोल्छालाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्ने आदेश दिएको हो। उनी गत वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट पक्राउ गरेको थियो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा सीआईबीले पूर्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छालाई पक्राउ गरेको थियो। यसअघि अदालतले पहिलो पटक चार दिन र त्यसपछि थप तीन दिन अनुसन्धानका लागि अनुमति दिइसकेको थियो।

पक्राउपछि उनकी पत्नी सीमा गोल्छाले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। मंगलबारको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले रिहाइको आदेश किन जारी हुनु नपर्ने हो भन्नेबारे कारणसहित २४ घण्टाभित्र लिखित जवाफ माग गरेको थियो। तर बुधबारको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍यो भने बिहीबारको पेसी पनि ‘हेर्न नमिल्ने’ अवस्थामा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*