पूँजी बजार संकटप्रति लगानीकर्ता संघको गम्भीर ध्यानाकर्षण, प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेपको आग्रह

काठमाडौँ । नेपालको पूँजी बजारमा पछिल्लो समय देखिएको अस्थिरता र चुनौतीपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल शेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ। संघले बजार सुधार, विस्तार र स्थायित्वका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको हो ।
प्रधानमन्त्री बालेन साहलाई सम्बोधन गरी पठाइएको पत्रमा संघले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र देखिएको व्यवस्थापकीय कमजोरी, नीतिगत अस्थिरता, स्वेच्छाचारी निर्णय शैली तथा बिचौलियाको प्रभावका कारण लगानीकर्तामा निराशा बढ्दै गएको उल्लेख गरेको छ। हाल करिब ७७ लाखभन्दा बढी हितग्राही खाताधारक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको दाबी पनि गरिएको छ।
संघका अनुसार पूँजी बजारमा सर्वसाधारणको ठूलो मात्रामा लगानी रहेको अवस्थामा यसको संरक्षण र सुदृढीकरण राज्यको प्राथमिक दायित्व हुनुपर्ने हो। तर वर्तमान समस्याले बजारप्रति विश्वास घट्दै गएको भन्दै तत्काल सरकारी हस्तक्षेप आवश्यक भएको औंल्याइएको छ।
पत्रमा सेबोनको वर्तमान नेतृत्व र संस्थागत संरचनामा रहेका कमजोरीलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। साथै, अर्थ मन्त्रालयको अपेक्षित सक्रियता नदेखिँदा समस्या अझ जटिल बनेको आरोपसमेत लगाइएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा लगानीकर्ताको हित संरक्षणको स्पष्ट व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको संघको निष्कर्ष छ।
यसै सन्दर्भमा संघले सेबोनको नेतृत्व संरचनाको पुनरावलोकन, दक्ष र जिम्मेवार व्यक्तिहरूको नियुक्ति, संस्थागत सुधार प्रक्रिया अघि बढाउन तथा नीतिगत स्थिरता कायम गर्न सरकारसँग आग्रह गरेको छ।











