पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई इन्धन र एलपी ग्यासको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। निगमले राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची कायम गरेको हो।
पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १२ रुपैयाँले घटेको छ। यता खाना पकाउने एलपी ग्यासको मूल्य १५० रुपैयाँले बढेर प्रतिसिलिण्डर २ हजार १६० रुपैयाँ पुगेको छ। त्यसैगरी निमगले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको छ।
पेट्रोलको मूल्य घटेसँगै पहिलो वर्गमा प्रतिलिटर २१४.५० रुपैयाँ दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेल पहिलो वर्गमा २२२.५० रुपैयाँ, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ कायम भएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ अनि तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छ।












