आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः श्रमिक अधिकार र सम्मानको प्रतीक

काठमाडौं । आज विश्वभर १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे १ मा मनाइने यो दिवस श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै उनीहरूको अधिकार, सुविधा र काम गर्ने वातावरण सुधारका लागि आवाज उठाउने दिनका रूपमा लिइन्छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनसँग जोडिएको छ। त्यहाँ कामदारहरूले आठ घण्टा कामको माग गर्दै आन्दोलन गरेका थिए। सोही आन्दोलनको सम्झनामा सन् १८९० देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।
नेपालमा विराटनगरमा वि.स २००७ सालमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। वि.स २०४६ पछि भने नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।
विश्वभरका मजदूरले यस दिनलाई आफ्नो श्रम पर्वको रूपमा लिंदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्छन्।











