बिचौलिया विरुद्ध प्रहरी अप्रेशनः एक महीनामै ४१७ जना पक्राउ, १२१ विरुद्ध मुद्दा

काठमाडौं । प्रहरीले विगत एक महीनाको अवधिमा देशभरबाट ४१७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाबाट १३३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५ जना, बाग्मती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १२१ जना बिचौलिया विरुद्ध मुद्दा दर्ता गरिएको छ भने २९६ जना व्यक्तिहरूलाई छानबिनपछि छाडिएको छ।
प्रहरीले वर्तमान समयमा बिचौलिया रहित, नागरिकमैत्री, कानून सम्मत, पारदर्शी र छिटो छरितो अनि प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ। प्रहरी कार्यालयहरू सेवाग्राहीलाई छिटो, छरितो काम गरिदिने बाहनामा प्रलोभनमा पारी दुःख हैरानी दिनेलाई कानूनी दायरामा ल्याउन सक्रिय रूपमा लागिरहेको पनि प्रहरीले बताएको छ।











