ठगी रोक्न वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौं । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारमा पारदर्शिता र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उद्देश्यले यस्तो आग्रह गरेको जनाएको छ। विभागका अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने सेवा शुल्क बैंकिङ माध्यमबाट मात्रै भुक्तान गर्नुपर्नेछ।
विभागले सेवा शुल्क भुक्तानी गर्दा प्राप्त हुने कागजी प्रमाण र अनलाइन कारोबारको विवरण अनिवार्य रूपमा सुरक्षित राख्न पनि श्रमिकलाई अनुरोध गरेको छ। नगद कारोबार गर्दा ठगी भएमा प्रमाण जुटाउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, त्यसका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई नगदमा रकम नदिन स्पष्ट निर्देशन दिइएको छ।
‘नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्याउन कठिन हुने भएकाले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कारोबार नगदमा नगर्नु/नगराउनु हुन अनुरोध छ’ विभागले जारी सूचनामा उल्लेख गरेको छ।











