बीमा प्राधिकरणका सञ्चालक पाण्डे बर्खास्त

काठमाडौं । सरकारले आज जारी गरेको अध्यादेशले नेपाल बीमा प्राधिकरणका एक मात्र गैर कर्मचारी सञ्चालक पदमुक्त हुन पुगेका छन् । नेपाल सरकारले मन्त्रिपरिषद समक्ष सिफारिस गरी आज जारी गरेको अध्यादेश अनुसार बीमा ऐन २०७९ को दफा ६ (१) को खण्ड ग बमोजिम नियुक्त भएका पूर्व सचिव गणेश पाण्डे पदमुक्त भएका हुन् ।
गत पुस १३ गते नेपाल बीमा प्राधिकरणको सञ्चालक बनेका पाण्डेलाई चार बर्षको अवधी तोकेर नियुक्ती दिइएको थियो । उनले चार महिना मात्रै काम गरेपछि सरकारले हटाएको हो ।
हाल अध्यक्ष समेत काम चलाउ रुपमा सामान्य प्रशासन सचिव चन्द्रकला पौडेलले सम्हाल्दै आएकी छिन् । सरकारले धितोपत्र बोर्डका सञ्चालकहरुलाई पनि अध्यादेशमार्फत बर्खास्त गरेको छ ।
उता, बालेन सरकारले सबैभन्दा भ्रष्टाचार भइरहेको नेपाल पुनर्बीमा कम्पनीका उच्च तहका राजनीतिक नियुक्ती हटाउन भने ध्यान दिन सकिरहेको छैन । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीका सिइओहरु हटाउने सम्बन्धमा पनि कुनै योजना अघि सारेको छैन ।
अर्थमन्त्रालयले मातहतका निकायहरुमा भएका राजनीतिक नियुक्तीवालाहरुलाई राजिनामा दिन भनेपनि ठूलो रकम घुस सेटिङमा नियुक्ती लिएर आएकाहरुले पैसा उठाउन बाँकी रहेको भन्दै पद छोड्न आनाकानी गरिरहेका छन् ।











