लगानी अनुकूल वातावरण बनाउँछौंः अर्थमन्त्री स्वर्णिम वाग्ले

२० बैशाख २०८३, आईतवार ०७:१९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी व्यवसायीका लागि लगानी अनुकूल वातावरण बनाइने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

नेपालको निजी क्षेत्रसँग आफू राम्रोसँग परिचित रहेकाले अपराधमा संलग्न देखिएकालाई भने कानुनी कारबाही गर्ने उनले बताए। उनले सरकारले अपराधकर्ममा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता जनाए। “निजी क्षेत्रका व्यक्तित्वसँग म परिचित र जानकार छु,” उनले भने, “तर अपराधजन्य गतिविधि सरकारलाई स्वीकार्य छैन । यो रोकिनु नै पर्छ ।” सरकारले स्पष्ट नीतिगत व्यवस्थासहित निजी क्षेत्रमैत्री युगको शुरुवात गर्न लागेको उल्लेख गरे। लगानी प्रवर्धन तथा सहजीकरणका लागि सरकारले उच्चस्तरको इमानदारिता प्रदर्शन गर्ने प्रतिबद्धता जनाउँदै सुशासन कायम गर्न वर्तमान सरकारले कुनै पनि सम्झौता नगर्ने धारणा व्यक्त गरे।

उनले सुशासन र नीतिगत व्यवस्थापनको जगमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण सिर्जना हुने बताए। “हामी निजी क्षेत्रमैत्री नीति निर्माण गर्दै छौं। यसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने छ।” उनले भने। सरकारले आगामी बजेटमार्फत नेपाललाई उदार अर्थतन्त्रको दिशामा लैजाने पनि जानकारी दिए। निजी क्षेत्रको सम्पत्तिको सुरक्षा, करको भार न्यूनीकरण गर्ने गरी नीतिगत सुधार गरिने उनको भनाइ थियो ।

नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले मार्गचित्र निर्माण गरिसकेको पनि बताए। पञ्चवर्षे स्थिर सरकारमार्फत नीतिगत निरन्तरता कायम गरी देशलाई बलियो आर्थिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनले राजनीतिक स्थिरता, डिजिटल प्रविधिको उपयोगिता विस्तार र कानुनी सुधारमार्फत आर्थिक विकासको आधारका रूपमा लिइने पनि जानकारी दिए। भौगोलिक कठिनाइ, संरचनात्मक अवरोध हटाएर प्रभावकारी सेवा प्रवाह कायम गर्न डिजिटल प्रविधिले महत्वपूर्ण योगदान सिर्जना गर्ने उनको भनाइ थियो । पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने काम शुरु भइसकेको पनि बताए।

उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना र प्रभावकारी कर प्रणालीको व्यवस्थाका लागि सरकार लागिपरेको धारणा व्यक्त गरे। वर्तमान सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलतामा प्रतिबद्ध भएर काम गर्ने जानकारी दिंदै उनले सीमित समूहको प्रभावलाई निस्तेज गर्दै स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए। “विगतका कमजोरी दोहोरिन नदिन उच्च नैतिक मापदण्ड कायम गरिने छ।” उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*