धरपकडले तर्सियो निजी क्षेत्र: स्थिर सरकारप्रति घट्दै भरोसा, व्यवसायीसँग संवादमा लामिछाने

काठमाडौं। सरकार गठन भएको एक महिना नपुग्दै निजी क्षेत्रभित्र असामान्य चासो र चिन्ता बढ्न थालेको छ। सुरुवाती चरणमा नीतिगत स्थायित्व र आर्थिक सुधारको अपेक्षा गरेको उद्योगी व्यवसायी समुदाय पछिल्ला दिनमा भएका धरपकडका घटनाले असहज महसुस गर्न थालेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रारम्भमै ‘पहिले सुन्ने, त्यसपछि मात्रै कारबाही गर्ने’ प्रतिबद्धता जनाएपछि केही हदसम्म आश्वस्त बनेको निजी क्षेत्र अहिले भने फरक अवस्थाको सामना गरिरहेको छ। पछिल्ला हप्ताहरूमा एकपछि अर्को व्यवसायी पक्राउ परेपछि सरकारी दृष्टिकोणप्रति शंका बढ्न थालेको व्यवसायीहरू बताउँछन्।
करिब दुई तिहाइ समर्थनसहित बनेको स्थिर सरकारबाट नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र आर्थिक गतिशीलताको अपेक्षा गरिएको थियो। तर, सरकारको पहिलो महिनाको गतिविधिले उल्टै त्रासको वातावरण सिर्जना गरेको निजी क्षेत्रको बुझाइ छ।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेका छन्। ललितपुरको ग्वार्खोस्थित पाँचतारे होटल रोयल टुलिपमा बिहान १० बजेदेखि हुने उक्त छलफलमा वर्तमान आर्थिक अवस्था, लगानी वातावरण तथा व्यवसायीहरूले भोगिरहेका समस्याबारे विमर्श गरिने बताइएको छ।
सरकारले हालै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, शंकर ग्रुपका अध्यक्ष शंकर गोल्याण, उपाध्यक्ष सुलभ अग्रवाल, व्यवसायी दीपक भट्ट तथा निर्माण व्यवसायी विक्रम पाण्डेलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यी घटनाहरूले निजी क्षेत्रलाई थप संवेदनशील बनाएको देखिन्छ।
रास्वपाले आफ्नो घोषणापत्रमा पाँच वर्षभित्र १२ लाख रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य सार्वजनिक गरेको थियो। तर, व्यवहारमा देखिएको पछिल्लो गतिविधिले ती लक्ष्यप्रति व्यवसायीहरूमा विश्वास कमजोर हुन थालेको संकेत मिलेको छ।
व्यवसायीहरूले एकतर्फी रूपमा निजी क्षेत्रमाथि मात्र कारबाही भएको र सरकारी संयन्त्रमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिइएको आरोप लगाउँदै आएका छन्। यस्तो अवस्थामा लगानीको सुरक्षा र कानुनी सुनिश्चितताबारे स्पष्ट सन्देश दिन सरकारसँग माग गरिएको छ।











