एक दर्जन लघुवित्तको नाफामा ४९ प्रतिशतको वृद्धि, दुई कम्पनीको घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेका ५० लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म ११ वटाले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार यी संस्थाहरूको समग्र खुद नाफा उल्लेख्य रूपमा बढेको देखिएको छ।
तथ्यांकअनुसार ११ संस्थाले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म कुल १ अर्ब ९४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूको कुल नाफा १ अर्ब ३० करोड ८५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा समग्र नाफा करिब ४८.८० प्रतिशतले वृद्धि भएको देखिन्छ।
कम्पनीगत रूपमा हेर्दा जीवन विकास लघुवित्तले सबैभन्दा बढी ६२ करोड ६९ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थान कायम गरेको छ। अघिल्लो वर्षको तुलनामा यस संस्थाको नाफा ७६.२६ प्रतिशतले बढेको छ। यता ४८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको साना किसान विकास लघुवित्तको अघिल्लो आवको तुलनामा नाफा घटेको छ।

त्यस्तै आशा लघुवित्तले १६८ प्रतिशतभन्दा बढी वृद्धि गर्दै १७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने मेरो माइक्रोफाइनान्सले अघिल्लो आवको तुलनामा १४.८६ प्रतिशतको वृद्धि सहित १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ। महुली लघुवित्त र एनआईसी एशिया लघुवित्तको खुद नाफामा अत्यधिक वृद्धि देखिएको छ। महुलीको नाफा १२ गुणाभन्दा बढीले बढ्दा एनआईसी एशियाको नाफा ८० गुणाभन्दा बढीले उकालो लागेको देखिन्छ जुन अघिल्लो वर्षको न्यून नाफाका कारण यस्तो देखिएको हो।
अन्य लघुवित्त कम्पनीहरू हिमालयन लघुवित्त, आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र गुराँस लघुवित्तको नाफामा पनि वृद्धि भएको छ। यता साना किसान विकास लघुवित्तको नाफा ११ प्रतिशतभन्दा बढीले घटेको छ भने आरएसडीसी लघुवित्तमा पनि करिब ६ प्रतिशत गिरावट आएको देखिन्छ। लघुवित्त क्षेत्रमा समग्र रूपमा नाफा वृद्धि देखिए पनि संस्थागत रूपमा भने समानता देखिएको छ। सञ्चालन खर्च, कर्जा विस्तार, असुली दर तथा आर्थिक गतिविधिको प्रभावका कारण संस्थाहरूबीच नाफामा असमानता देखिएको हो।











