बीमा क्षेत्रमा बढ्दो रोजगारीः १२ हजार ३९४ जना कर्मचारी आवद्ध, शाखा विस्तारसँगै पहुँच ५०% नाघ्यो

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली बीमा क्षेत्र रोजगारीको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको देखिन्छ । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा अहिले १२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा कम्पनीहरूले उपलब्ध गराउने सेवा–सुविधा, प्रोत्साहन योजना र नियमित क्षमता अभिवृद्धि तालिमका कारण युवापुस्तासहित विभिन्न वर्गका मानिसहरू यस क्षेत्रमा आकर्षित हुन थालेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को चैत मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीहरुमा कुल १२ हजार ३९४ जना कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत रहेका छन् । जसमा जीवन बीमा कम्पनीमा ६ हजार ९९ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार २९५ जना कर्मचारी कार्यरत रहेका छन् ।
गत आर्थिक वर्षको सोहि अवधिमा बीमा क्षेत्रमा १२ हजार ९१ जना कर्मचारी रहेका थिए । जसमा ६ हजार ५५ जना जीवन बीमा र ६३६ जना निर्जीवन बीमा क्षेत्रमा रहेका छन् ।

पछिल्लो केही वर्षयता नेपालमा बीमाको दायरा बढ्दै गएको छ । सरकार र नियमनकारी निकाय बीमा प्राधिकरणले देशैभरीका स्थानीय तहहरुमा बीमा सचेतना कार्याक्रम सञ्चालन तथा शैक्षिक जनचेतना बृद्धि भएसँगै बीमाको दायरा बढ्दै गएको हो ।
सोहि कारण बीमा कम्पनीहरुले बीमा सेवा विस्तार तथा आफ्नो व्यवसाय बृद्धिको लागि शाखा कार्यालयमा आक्रामक बन्दै गएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २ हजार ९९८ वटा प्रादेशिक–शाखा–उपशाखाहरुको संख्या रहेको छ । जसमा जीवन बीमा कम्पनीका १ हजार ८४१ वटा र निर्जीवन बीमा कम्पनीका १ हजार १५७ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको समिक्षा अवधिमा बीमाको दायरामा आएको (म्यादी र लघु म्यादी जीवन बीमासहित) को जनसंख्या बढेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ४४.६४ प्रतिशत रहेको थियो भने समीक्षा अवधिमा बीमाको दायरामा आएको जनसंख्या बृद्धि भएर ५०.३१ प्रतिशत रहेको छ ।

सरकार र सरकारी निकायहरुले समेत बीमालाई प्राथमिकताका साथ राखेको पाइन्छ । देशमा भएको आर्थिक, शैक्षिक तथा वित्तीय जनचेतना बढेसँगै नागरिकहरुले जीवन तथा निर्जीवन बीमा गर्दै आएका छन् ।











