सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह

२० बैशाख २०८३, आईतवार १६:१८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन वृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार समाजमा ‘आय आर्जन’भन्दा ‘सम्पत्ति सिर्जना’लाई फरक ढंगले बुझ्ने र मूल्याङ्कन गर्ने आवश्यकता छ । नेपालमा निजी क्षेत्रको कुल स्थिर पुँजी निर्माण घट्दो क्रममा रहेको उल्लेख गर्दै उनले सम्पत्ति सिर्जनालाई प्रोत्साहन र सम्मान गर्ने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताए ।

अध्यक्ष पाण्डेले सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ समाधान गर्दै सहकार्यको वातावरण सुदृढ गर्नुपर्ने धारणा राखे । विकसित मुलुकहरूले अपनाएको औद्योगिक विकास रणनीतिलाई नेपालले पनि आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले पुराना कानुनी अड्चन हटाउन आग्रह गरे ।

उनले कर्पोरेट कानुनहरूको ‘डी–अपराधीकरण’ तथा ‘एन्टिसिपेटरी बेल’को व्यवस्था आवश्यक रहेको बताए । यस सन्दर्भमा भारत ले ‘जन विश्वास बिल’मार्फत धेरै ऐनका कसुरहरूलाई परिमार्जन गरेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि लगानी विस्तारका लागि कानुनी सहजता अपरिहार्य रहेको उनको भनाइ छ ।

‘व्यावसायिक वातावरणमा स्पष्टता र पूर्वानुमानयोग्यता भए मात्र लगानीकर्ताको आत्मविश्वास बढ्छ’ उनले भने, ‘यसले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र स्वदेशमै रोजगारी सिर्जनामा टेवा पुर्‍याउँछ ।’

यसैबीच, नेपाल उद्योग परिसंघले नेपाली अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्‍याउने लक्ष्यसहित विस्तृत मार्गचित्र तयार गरिरहेको जनाएको छ । उक्त मार्गचित्रअनुसार वार्षिक औसत ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सके सन् २०३० सम्ममा नेपालको अर्थतन्त्र (नोमिनल जीडीपी) १०० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*