आजदेखि सुरु नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ साधारणसभा, नयाँ नेतृत्व चयनमा कडा प्रतिस्पर्धा

२१ बैशाख २०८३, सोमबार १०:२०

काठमाडौं । निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि ललितपुरमा सुरु भएको छ। लामो समयदेखि देखिएको कानुनी जटिलता, आन्तरिक मतभेद र अदालतको आदेशका कारण स्थगित हुँदै आएको कार्यक्रम अन्ततः सहमतिपछि कार्यान्वयनमा आएको हो।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिप मा उद्घाटन सत्र आयोजना गरिएको छ, जहाँ देशभरका उद्योगी, व्यापारी, सरकारी प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति देखिएको छ। निर्वाचन कार्यक्रमअनुसार भोलि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा मतदान सम्पन्न गरिनेछ।

महासंघको वर्तमान व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले गर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि नेतृत्वमा पुग्ने निश्चित भएको छ। उनी वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पछि महासंघको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। संशोधित विधानले भविष्यमा अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको हुँदा श्रेष्ठ यो प्रावधान अन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति बन्ने सम्भावना रहेको देखिन्छ।

यसपटकको निर्वाचनमा ७३ सदस्यीय कार्यसमितिका लागि १३७ जनाले उम्मेदवारी दिएका छन्। कुल २ हजारभन्दा बढी मतदाता सहभागी हुने यस प्रक्रियामा एसोसिएट समूहको मत निर्णायक हुने अनुमान गरिएको छ। वरिष्ठ उपाध्यक्षदेखि विभिन्न उपाध्यक्ष र सदस्य पदसम्म प्यानलगत प्रतिस्पर्धा चर्को देखिएको छ।

निर्वाचनअघि सदस्यता सम्बन्धी विवादले प्रक्रिया अवरुद्ध भएको थियो। केही वस्तुगत संघको सदस्यता र मताधिकारको विषय अदालतसम्म पुगेपछि कार्यक्रम रोकिएको थियो। पछि नयाँ संघलाई सदस्यता दिने तर निश्चित समयसम्म मताधिकार नदिने सहमतिपछि मार्ग प्रशस्त भएको हो।

यस निर्वाचनमा उम्मेदवारी शुल्क उल्लेख्य रूपमा बढाइएकाले पनि बहस सिर्जना भएको छ। उच्च शुल्कले प्रतिस्पर्धा महँगो बन्दै गएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। साथै संशोधित विधानले संरचनागत परिवर्तन ल्याउँदै महिला सहभागिता र नेतृत्व विस्तारमा जोड दिएको छ।

राजनीतिक झल्को दिने गरी दुई प्रमुख समूहबीच प्रतिस्पर्धा देखिएको छ। एक पक्षमा वर्तमान नेतृत्वसँग नजिक रहेका व्यवसायीहरू छन् भने अर्को पक्षमा हेमराज ढकाल निकट समूह सक्रिय छ। उम्मेदवारहरूले पछिल्ला दिनहरूमा देशभर भेटघाट र छलफललाई तीव्र बनाउँदै आफ्नो पक्षमा मत जुटाउने प्रयास गरेका थिए।

हालको आर्थिक अवस्थाले निजी क्षेत्रलाई दबाबमा पारेको सन्दर्भमा नयाँ नेतृत्वप्रति व्यवसायीहरूको अपेक्षा उच्च देखिन्छ। बैंक ब्याजदर, लगानी वातावरण, बजारमा देखिएको मन्दी र सरकारी खर्चको सुस्त गतिलगायत विषय समाधानका प्रमुख एजेन्डा बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*