आर्थिक रूपान्तरणको चाबी निजी क्षेत्रको हातमा, राज्यले सुरक्षित वातावरण दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण उपलब्ध गराउन सके देशको आर्थिक रूपान्तरण तीव्र गतिमा सम्भव हुने बताएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई नेपालको आर्थिक इतिहासमा संघर्ष, साझेदारी र दृढ संकल्पका आधारमा निर्माण भएको महत्वपूर्ण चरण भएको उल्लेख गरे। यस अवधिमा महासंघले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार तथा लगानीको वातावरण निर्माणमा उल्लेखनीय भूमिका खेलेको उनले बताए।
अध्यक्ष ढकालले पछिल्लो समय गठन भएको स्थायी सरकार र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीतिको कार्यान्वयनलाई सकारात्मक कदमका रूपमा मूल्याङ्कन गर्दै यसले निजी क्षेत्रलाई भौतिक मात्र नभई नीतिगत रूपमा पनि सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे। आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयनतर्फ सरकारले देखाएको चासोको पनि उनले स्वागत गरे।
उनका अनुसार मुलुक अहिले अभूतपूर्व अवसरको चरणमा प्रवेश गरेको छ। स्थायित्वसँगै नीतिगत स्पष्टता कायम भए विकासले अपेक्षित गति लिन सक्ने उल्लेख गर्दै उनले विगतका अवसरहरू जस्तै यसपटक पनि चुक्न नहुनेमा सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए।
देशमा रोजगारी सिर्जना मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ युवालाई अवसर दिन निजी क्षेत्रलाई थप सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याए। देशभित्रै उच्च ज्याला सहितको रोजगारी सिर्जना गर्न नसके सामाजिक निराशा बढ्ने चेतावनी पनि उनले दिए।
अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र विगत तीन दशकमा औसत ४ प्रतिशत मात्र वृद्धि भएको र प्रत्यक्ष वैदेशिक लगानी अपेक्षाअनुसार भित्रिन नसकेको उल्लेख गर्दै अब नयाँ चरणको आर्थिक सुधार अपरिहार्य भएको बताए। ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रका सम्भावनाको पूर्ण उपयोग गर्दै लगानी विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
सुशासनलाई लगानीको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै उनले प्रविधिको अधिकतम प्रयोग, सदाचार प्रवर्द्धन र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औँल्याए। सरकारी सेवा प्रणालीलाई डिजिटल बनाउँदै नागरिक एपमार्फत व्यवसाय दर्तादेखि अन्य सेवाहरू सहज रूपमा उपलब्ध गराउनुपर्ने सुझाव पनि उनले दिए।
महासंघले स्वदेशी पुँजी परिचालन गर्दै १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरिसकेको जानकारी दिँदै उनले यसले ठूला पूर्वाधार तथा विकास आयोजनामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। साथै, विभिन्न देशमा आयोजना गरिएका बिजनेस समिटहरूले विदेशी लगानी आकर्षित गर्न सकारात्मक संकेत दिएको उनले बताए।











