लगातार चौथो दिन समेत घट्यो बजारः विकास बैंक र हाइड्रोमा भारी गिरावट, किन पर्ख र हेर ?

२१ बैशाख २०८३, सोमबार १५:०५

काठमाडौँ । नेपाल धितोपत्र बजारमा पछिल्ला दिनहरूमा लगातार गिरावट देखिँदा समग्र शेयर बजार वातावरण नै नकारात्मक बनेको छ । लगातार चौथो दिनसम्म बजार राताम्य हुँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको छ । बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताले आफ्नो लगानी बालुवामा पानीझैँ हराइरहेको अनुभूति गर्न थालेका छन् । यसले बजारमा निराशा र अनिश्चितता दुवै बढाएको छ ।

धितोपत्र बोर्ड (सेबोन) हाल नेतृत्वविहीन अवस्थामा रहनु पनि बजारको मनोबल घटाउने प्रमुख कारणका रूपमा हेरिएको छ । नयाँ नेतृत्वको नियुक्ति र संस्थागत सुधारको प्रक्रिया ढिलाइ हुँदा नीतिगत स्पष्टता अभाव देखिएको छ । लगानीकर्ताहरूले अब आउने नेतृत्वले बजार सुधारका लागि कस्तो भूमिका खेल्छ भन्ने विषयमा ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । यसले तत्काल बजारमा सकारात्मक वातावरण फर्कन नसकेको विश्लेषण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको प्रभाव शेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन । अधिकांश संस्थाको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि त्यसले बजारमा विश्वास पुनःस्थापित गर्न सकेको छैन । सकारात्मक वित्तीय सूचकहरू हुँदा पनि बजारले प्रतिक्रिया नदिँदा लगानीकर्तामा थप अन्योल सिर्जना भएको छ ।

पछिल्ला दिनहरूमा कारोबार रकम पनि निरन्तर घट्दै गएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता कमजोर हुँदै गएको संकेत दिएको छ । विशेषगरी अल्पकालीन लगानीकर्ताहरूले जोखिम न्यूनीकरणका लागि शेयर बिक्री बढाउँदा बजारमा लगातार बिक्री चाप सिर्जना भएको छ । यसैबीच केही व्यवसायी तथा ठूला लगानीकर्तासम्बन्धी अनियमितता र कानुनी कारबाहीका खबरहरूले पनि बजारमा मनोवैज्ञानिक दबाब थपेको देखिन्छ ।

यद्यपि नियामक निकायहरूले बजारको आधारभूत अवस्था कमजोर नभएको स्पष्ट गर्दै अनावश्यक डर र त्रासमा नपर्न आग्रह गरिरहेका छन् । ब्याजदरमा आएको गिरावट, बैंकिङ प्रणालीमा सुधारिएको तरलता तथा आर्थिक गतिविधिमा विस्तार हुँदै गएको अवस्थाले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ । तर तत्कालका लागि भने बजारमा ‘वेट एन्ड वाच’ को अवस्था कायमै रहेको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ उपसूचक नै राताम्य भएको छन् । आज वाणिज्य बैंक समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको २.१४ प्रतिशत, फाइनान्स समूहको ०.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३५ प्रतिशत, हाइड्रोपावर समूहको २.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको हो । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*