घुस दिएपछि तेस्रो पक्ष बीमा नै नगरी सवारीसाधनको नवीकरण

काठमाडौं । सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बीमा नै नगरी नवीकरण हुने गरेको पाइएको छ ।
मोटरसाइकल नवीकरणका लागि करिब एक हजार आठ सय रुपैयाँ बीमाशुल्क लाग्ने गर्दछ ।
त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपियाँ लाग्छ तर पाँच सय रुपैयायाँ घुस दिएपछि बीमा नै नगरी सवारी नवीकरण हुँदै आएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट नवीकरण गर्ने अधिकांशले बीमा नगरेको पाइएको छ । सन्धुलीका विकास पौडेलले बीमा बापतको पाँच सय घुस दिएपछि सल्लाघारीबाट मोटरसाइकलको नवीकरण भएको बताएका छन् ।
उनले भने, “दाइको मोटरसाइकलको कर तिर्न बीमा गर्न जाँदै थिए । एक जना आएर यो पर्दैन पाँच सय दिनूस् हुन्छ भन्यो । बीमा गर्नै परेन । नवीकरण भयो ।” सवारीसाधनको नवीकरण गर्ने काठमाडौँ उपत्यकाका यातायात कार्यालयमा बीमा नगरी नवीकरण गर्ने गरिएको छ । यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनामा पनि बीमा नगरी नवीकरण हुने गरेको छ । कर्मचारीको मिलेमतोमा बिचौलियाले उक्त काम गर्दै आएका छन् । बीमा कम्पनीका व्यक्तिले पनि थोरै कमिसनका लागि नक्कली कागज बनाइदिने गरेका छन् । कर्मचारीकै मिलेमतोमा बिचौलियाले कानुन मात्र उल्लङ्घन गरेका छैनन्, मान्छेको जीवनसँग खेलबाड भइरहेको छ ।
यातायात व्यवसायीका अनुसार तत्काललाई एक हजार आठ सयको काम पाँच सयमा गराए पनि दुःख पाउने भनेको सवारीधनीले नै हो । दुर्घटना कसरी कहाँ हुन्छ कसैले भन्न सकिने अवस्था होइन । ठुलो दुर्घटनामा परियो र तेस्रो पक्षको उपचार वा क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने बीमा नगरे पनि सवारीधनीले तिर्नै पर्छ । त्यतिबेला जायजेथा बेच्नुपर्ने अवस्था पनि आउन सक्छ । कानुन उल्लङ्घन गरेकोमा सजायको भागीदार पनि हुनु पर्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर भन्नुहुन्छ, “अहिले एक÷दुई हजारको लोभ गरेर, आफैँलाई जोखिममा पारेर भोलि लाखौँ खर्च भर्नुपर्ने अवस्था आउन सक्छ ।
तेस्रो पक्ष बीमा सवारीधनीका लागि हो, त्यस्तो जोखिम उठाउनु मूर्खता हो । प्रशासनले पनि यसलाई कडाइ गर्नु पर्छ ।” यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका कार्यालय प्रमुख बद्रीप्रसाद निरौलाले भने, “तेस्रो पक्ष बीमा नगरी सवारी नवीकरण गर्न मिल्दैन । गरेका छैनौँ । यदि त्यस्ता घटना पाइएको खण्डमा हामीलाई भन्नुहोस् नियन्त्रणमा लिएर कारबाही गर्छौं ।”
नक्कली बीमा बनाएर नवीकरण गर्न आएका घटना भने कहिलेकाहीँ फेला पारिएको प्रमुख निरौलाले बताए। उनले भने, “आँखाले देख्नेसम्म हामीले पहिचान गर्छौं । कहिलेकाहीँ नक्कली बीमा बनाएको पनि भेटिन्छ । कसैले मोबाइलमा बिमाको फोटो देखाउनुहुन्छ । विश्वास नगरौँ भने कति दुःख दिएको भनेर सेवाग्राही कराउनुहुन्छ, विश्वास गर्दा समस्यामा परिने सम्भावना रहन्छ ।”
कसैले झुक्याएर बीमा नगरी नवीकरण गरेको हुन सक्ने तर त्यस्तो घटना पाइए कारबाही गरिने निरौलाको भनाइ छ । “यी सबै खालका छलछामबाट बच्न अब अनलाइनबाटै नवीकरण गर्न सक्ने गरी तयारी भएको छ । ब्लुबुक क्युआर लागु भएपछि यस किसिमका समस्या भोग्नु नपर्ला ।” सल्लाघारी कार्यालयमा दैनिक एक हजार जना सेवाग्राही सवारी नवीकरणका लागि आउने गर्छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, मोटर बिमादरसम्बन्धी निर्देशिका, २०७३ अनुसार सार्वजनिक सडकमा कानुनी रूपमा सवारी चलाउन कम्तीमा तेस्रो–पक्ष बीमा गरिनु अनिवार्य छ ।
तेस्रोपक्षीय बीमा अन्तर्गत तेस्रो पक्ष र कर्मचारीको मृत्यु भएमा पाँच लाख र घाइते मात्र भएको हकमा तीन लाख रुपियाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सवारीका ब्लुबुक (निलो किताब) लाई अनलाइन प्रणालीमार्फत क्युआर कोड राख्ने काम सुरु गरेको छ ।











