बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशक तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले नयाँ जिम्मेवारी तोक्दै महाशाखागत संरचनाको जिम्मेवारीमा हेरफेर गरिएको हो।
नयाँ जिम्मेवारी अनुसार निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन महाशाखाको जिम्मा दिइएको छ। उक्त महाशाखा बीमा कम्पनीहरूको नियामकीय अनुपालन, नीतिगत निर्देशन तथा बजार अनुशासन कायम गराउने मुख्य अंगका रूपमा रहँदै आएको छ। यस्तै निर्देशक पुजन ढुङ्गेल अधिकारीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। व्यवस्थापन महाशाखाले मुख्य रूपमा आन्तरिक प्रशासन, मानव संसाधन व्यवस्थापन तथा संस्थागत समन्वयका कामहरू हेर्ने गर्दछ।
त्यसैगरी निर्देशक ध्रुव तिमल्सिनालाई अनुसन्धान महाशाखामा खटाइएको छ। अनुसन्धान महाशाखाले बीमा क्षेत्रसँग सम्बन्धित सम्भावित अनियमितताहरूको अध्ययन तथा अनुसन्धान गर्ने गर्दछ। यता निर्देशक कुन्दन सापकोटालाई सुपरीवेक्षण महाशाखाको जिम्मेवारी दिइएको छ। जसअन्तर्गत बीमा कम्पनीहरूको अनुगमन, निरीक्षण तथा मूल्याङ्कनका कार्यहरू सञ्चालन हुन्छन्।
त्यसैगरी निर्देशक शम्भराज लामिछानेले कानून महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यस महाशाखाले बीमा सम्बन्धी कानुनी परामर्श, नीतिगत मस्यौदा तयारी, विवाद समाधान जस्ता कार्यहरू गर्दै आएको छ।












