चार दिनदेखि लगातर घट्दै पाल्पा सिमेन्टको शेयरमूल्य

काठमाडौं । नेप्सेमा सूचीकृत भएपश्चात् गत चैत २७ गतेदेखि कारोबारमा आएको पाल्पा सिमेन्ट इण्डष्ट्रिजको शेयरमूल्य पछिल्लो चार दिनदेखि लगातार घटिरहेको छ।
शुरूमा प्रतिकित्ता ३०० रुपैयाँबाट कारोबारमा आएको कम्पनीको शेयरमूल्य ११ कार्यदिन लगातार बढेपश्चात अब भने घट्न थालेको हो। वैशाख १४ गते कम्पनीको शेयरमूल्य सबैभन्दा उच्च १११७.१० रुपैयाँ प्रतिकित्ता कायम भएको थियो। त्यसपश्चात भने मूल्य लगातार ओरालो लागिरहेको छ।
वैशाख १५ गते कम्पनीको शेयरमूल्य सबैभन्दा उच्च मूल्यबाट घटेर १०३९ रुपैयाँमा झरेको थियो। १६ गते पुनः घटेर ९८५.१० रुपैयाँमा कायम भयो भने १७ गते फेरि घटेर ९४८ रुपैयाँमा झरेको थियो। त्यसपश्चात लगातार ३ दिन बिदा भएर २१ गते कारोबार खुल्दा पनि मूल्य घटेर ८८८ रुपैयाँमा झरेको छ।
यो समाचार तयार पार्दासम्म आज पनि कम्पनीको शेयरमूल्य घटिरहेको छ। अहिले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८० रुपैयाँमा कारोबार भइरहेको छ।












