मूल्यवृद्धि र राज्य उदासीनताप्रति निर्माण व्यवसायी आक्रोश, माग पूरा नभए निर्माण ठप्प पार्ने चेतावनी

२२ बैशाख २०८३, मंगलवार १३:३५

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र राज्यको उदासीनताका कारण निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै एक साताभित्र आफ्ना माग सम्बोधन नभए देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै हाल इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’ जस्तो अवस्था सिर्जना भएको जनाएको छ । महासंघका अनुसार पश्चिम एसियामा चलेको युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २२५ रुपैयाँसम्म पुगेको छ भने प्रतिकेजी ७५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य १५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै सिमेन्ट, फलामजन्य सामग्रीलगायतका निर्माण सामग्रीमा भएको निरन्तर मूल्यवृद्धिका कारण पुरानो दररेटमा ठेक्का सम्झौता अनुसार काम गर्न असम्भव भएको महासंघको भनाइ छ । यस अवस्थालाई ‘फोर्स मेजर’ को रूपमा स्वीकार गरी तत्काल मूल्य समायोजन गर्नुपर्ने माग गरिएको छ ।

महासंघले सार्वजनिक गरेका विवरणअनुसार राज्यको पुँजीगत खर्चसमेत सुस्त देखिएको छ । चालू आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्चमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र खर्च भएको भन्दै यसले समग्र अर्थतन्त्रसँगै निर्माण उद्योगलाई पनि गम्भीर दबाबमा पारेको उल्लेख गरिएको छ ।

यसैबीच सरकारले ल्याएको सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेश सकारात्मक भए पनि निर्माण क्षेत्रका प्रमुख समस्या जस्तै ‘लो बिडिङ’, उपभोक्ता समिति मार्फत हुने निर्माण कार्य र मूल्य समायोजनको स्पष्ट व्यवस्थालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको महासंघको दाबी छ ।

महासचिव शिवहरी घिमिरेले भने, निर्माण कार्य गर्दा थेग्नै नसक्ने घाटा हुन्छ, नगर्दा सरकारी जरिवानाको दोहोरो मारमा व्यवसायीहरू परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*