व्यवसायी शेखर गोल्छा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार हिरासत म्याद थप गर्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन अन्तर्गत अनुसन्धानका लागि पुनः हिरासतमा राख्न अनुमति मागेको थियो । तर, सर्वोच्च अदालतले जिल्ला अदालतका अघिल्ला दुई म्याद थप आदेश बदर गर्दै धरौटी वा जमानतको विकल्पलाई प्राथमिकता दिनुपर्ने स्पष्ट आदेश दिइसकेको थियो ।
सर्वोच्च अदालतले अनुसन्धान अधिकारीले धरौटी वा जमानत माग नगरी हिरासतमा राख्न अनुमति लिने–दिने कार्य भएको भन्दै वैशाख ११ र २१ गतेका आदेश उत्प्रेषणमार्फत बदर गरेको जनाएको छ ।
धितोपत्रसम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छा सोमबार पुनः पक्राउ परेका थिए । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उक्त मुद्दामा गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको ठहर गर्दै अघिल्ला आदेशहरू पनि बदर गरेको थियो ।
तर, अदालतको आदेश सार्वजनिक भएको केही घण्टामै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै कसुरमा पुनः पक्राउ गरेको थियो । गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।












