रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट, खर्च बढ्दा वित्तीय सूचकहरू खुम्चिँदै

२३ बैशाख २०८३, बुधबार ११:०८

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचक खुम्चिएको देखिएको हो ।

समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि, कम्पनीको मुख्य व्यापार अर्थात् बिक्री आम्दानीमा भने सामान्य सुधार देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको बिक्री गरेको छ जुन अघिल्लो वर्षको ७ अर्ब ३९ करोड रुपैयाँको तुलनामा केही उच्च हो। तर, यो वृद्धिले नाफामा परेको दबाबलाई सम्हाल्न पर्याप्त देखिएको छैन। विशेषगरी अन्य आम्दानी घटेर ४ करोड रुपैयाँबाट २ करोड १५ लाख रुपैयाँमा सीमित हुनु पनि नाफा घट्नुको एक प्रमुख कारण बनेको छ।

खर्चतर्फ हेर्दा प्रशासनिक तथा अन्य खर्च उल्लेखनीय रूपमा बढेको छ। यस्तो खर्च २२ करोड ३७ लाख रुपैयाँबाट बढेर २९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बिक्री तथा वितरण खर्च भने सामान्य घटेर १४ करोड ९ लाख रुपैयाँबाट १३ करोड ८२ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, वित्त खर्चमा पनि कमी आएको छ जुन ३४ करोड ४२ लाख रुपैयाँबाट घटेर २२ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वित्तीय अवस्थालाई हेर्दा १ अर्ब ९० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। कुल चालु सम्पत्ति ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३१ करोड रुपैयाँ कायम छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*