शेयर बजारबाट बैंकको आम्दानी ९ अर्ब नाघ्योः ग्लोबल र नबिल अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र कुमारी

काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट झण्डैै साढे ९ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट ९ अर्ब ३७ करोड १ लाख २६ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।
बैंकहरुले गरेको आम्दानी गत आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको तुलनामा ३६.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले शेयर बजारबाट ६ अर्ब ८८ करोड ३१ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि शेयर बिक्रीसम्बन्धी नीति सहज बनाएको छ । बैंकहरूले एक वर्ष पूरा भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने भएका छन् । यसअघि यस्तो बिक्री सीमित गरी १ प्रतिशत मात्र अनुमति दिइएको थियो । नियामक संस्थाको यस निर्णयपछि बैंकहरूलाई शेयरलगायत अन्य लगानीबाट पर्याप्त आम्दानी गर्ने अवसर खुला भएको छ, जसले उनीहरूको नाफा र लगानी व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
बैंकहरूले शेयर बिक्री तथा लगानीबाट हुने आम्दानीलाई ‘नेट ट्रेडिङ इनकम’ शीर्षकमा लेखा विवरणमा समेट्ने गर्छन् । यस सूचकमा विदेशी मुद्राको कारोबार, विशेष गरी अमेरिकी डलर खरिद–बिक्रीबाट प्राप्त आम्दानी पनि समावेश हुने भएपनि डलर सटहीभन्दा शेयर कारोबारबाट हुने आम्दानी बढी रहने भएकाले यो सूचक मुख्यतया शेयर लगानीको प्रतिफलका रूपमा बुझिन्छ ।
९ महिनाको अवधिमा शेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकले ९५ करोड ८९ लाख १७ हजार रुपैयाँ शेयर बजारबाट कमाएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४५.५२ प्रतिशतले बढी हो ।

शेयर बजारबाट सर्वाधिक धेरै आम्दानी गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले ७५ करोड ८९ लाख २४ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा भने बैंकको शेयर बजारबाट हुने आम्दानी ५४ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयर बजारबाट हुने आम्दानी २५.९७ प्रतिशतले बढाएर ७१ करोड ८९ लाख रुपैयाँ पुराएको छ । शेयर बजारबाट सर्वाधिक आम्दानी गर्नेमा इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो नम्बरमा रहेको छ ।
मार्केटबाट सर्वाधिक कमाई वृद्धि गर्नेमा लक्ष्मी सनराइज र कुमारी बैंक रहेको छन् । लक्ष्मी सनराइज बैंकको शेयर बजारबाट हुने आम्दानी १११ प्रतिशतले बढेर६९ करोड ५९ लाख र कुमारी बैंकको ११९ प्रतिशतले बढेर ५५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, ९ महिनाको अवधिमा सानिमा बैंकको शेयर बजारबाट हुने आम्दानी ४७ प्रतिशतले बढेर ६५ करोड ४० लाख, स्टान्र्डड चार्टड बैंकको ११ प्रतिशतले बढेर ६१ करोड ८९ लाख, हिमालयन बैंकको २७ प्रतिशतले बढेर ५९ करोड ८१ लाख, एभरेष्ट बैंकको ५३ प्रतिशतले बढेर ५९ करोड ७७ लाख, एनएमबि बैंकको ६८ प्रतिशतले बढेर ५३ करोड, प्रभु बैंकको २५ प्रतिशतले बढेर ५१ करोड ८२ लाख, सिटिजन्स बैंकको ९७ प्रतिशतले बढेर ४० करोड १४ लाख, माछापुच्छ्रे बैंकको २८ प्रतिशतले बढेर ३३ करोड १७ लाख र सिद्धार्थ बैंकको ६३ प्रतिशतले बढेर ३१ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा प्राइम बैंकको ६ं८ प्रतिशतले शेयर बजारबाट हुने आम्दानी बढेर २६ करोड ९७ लाख, नेपाल एसबिआई बैंक ३० प्रतिशतले बढेर २६ करोेड ७४ लाख र राष्ट्रिय वाणिज्य बैंकको ११० प्रतिशतले बढेर १९ करोड २२ लाख रुपैयाँ पुगेको हो ।
यता, नेपाल बैंकको शेयर बजारबाट हुने आम्दानी ३५ प्रतिशतले घटेको छ भने कृषि विकासब बैंकको ६ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।












