वैदेशिक रोजगारीको प्रलोभनमा ५३ लाख ठगी, काठमाडौँबाट पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पाँच जना काठमाडौँबाट पक्राउ परेका छन्। विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना पीडितबाट ५३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बागलुङ काठेखोलागाउँपालिका–३ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–११ बस्ने २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौँ महानगरपालिका–३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–९ बस्ने ३९ वर्षीय विजय कुमार यादव रहेका छन्। त्यस्तै काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र बुढानिलकण्ठ नगरपालिका–११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रवेश गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सन्दिप थापा मगरले माल्टा पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ असुलेका थिए। निर बहादुर कार्कीले क्रोएशिया पठाइदिन्छु भन्दै आठ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ संकलन गरेका थिए। त्यसैगरी विजय कुमार यादवले कतार पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख २० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ।
यस्तै चिरन्जिवी अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै तीन जना पीडितबाट करिब ३० लाख रुपैयाँ ठगी गरेको र प्रवेश गुरुङले मकाउ पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।
रकम लिएपछि लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सन्दिप र विजय कुमारलाई काठमाडौँ महानगरपालिका–१२ बाट, निर बहादुरलाई महानगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै चिरन्जिवीलाई महानगरपालिका–११ बाट र प्रवेशलाई महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरिएको हो।












