निराशै–निराशमा पुँजी बजारः कारोबार रकम ३ अर्बमा सीमित, यी कारण बढ्न सकेको छैन मार्केट!

२३ बैशाख २०८३, बुधबार १५:०५

काठमाडौँ । चार दिनको निरन्तर उतारचढावपछि हिजो सामान्य सुधार देखिएको शेयर बजार आज फेरि ओरालो लागेको छ । पछिल्ला दिनहरूमा हरियाली टिक्न नसक्दा बजार पुनः दबाबमा परेको हो । समग्रमा बजार सुस्त गतिमा अगाडि बढिरहेको देखिन्छ भने लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । यसले गर्दा बजार निरन्तर खुम्चिने प्रवृत्ति देखिएको विश्लेषण गरिएको छ ।

बजारमा देखिएको निराशाको प्रमुख कारणमध्ये एक धितोपत्र बोर्ड (सेबोन) हाल नेतृत्वविहीन अवस्थामा रहनु रहेको सरोकारवालाहरू बताउँछन् । नयाँ नेतृत्व नियुक्ति तथा संस्थागत सुधार प्रक्रियामा ढिलाइ हुँदा नीतिगत स्पष्टता नदेखिएको र यसले बजारमा अन्योलता बढाएको छ । लगानीकर्ताहरूले आगामी नेतृत्वको नीति तथा भूमिकाबारे ‘पर्ख र हेर’ को अवस्था अपनाउँदा तत्काल सकारात्मक माहोल बन्न नसकेको देखिन्छ ।

त्यस्तै, पछिल्लो समय बजारमा प्रभावशाली भूमिका रहेका केही व्यवसायी पक्राउ परेपछि पनि लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । यसले बजारमा अनिश्चितता थपिएको र जोखिम न्यूनिकरणका नाममा लगानीकर्ताले बिक्री चाप बढाएको देखिन्छ, जसको प्रत्यक्ष असर सूचकांकमा परेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अधिकांश बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा अपेक्षित रूपमा देखिएको छैन। संस्थागत रूपमा वित्तीय अवस्था सन्तोषजनक भए पनि त्यसले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकेको छैन ।

यद्यपि नियामक निकायहरूले बजारको आधारभूत अवस्था कमजोर नभएको स्पष्ट गर्दै अनावश्यक डर र त्रासमा नपर्न लगानीकर्तालाई आग्रह गरिरहेका छन्। ब्याजदर घट्दो क्रममा रहनु, बैंकिङ प्रणालीमा तरलता सुधार हुनु र आर्थिक गतिविधि विस्तार हुँदै जानुले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ। तर तत्कालका लागि भने बजार ‘वेट एन्ड हेर’ स्थितिमै रहेको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँका सीमित भएको हो ।

यसदिन ५ उपसूचक घटेको छ भने ८ उपसूचकमा केहि सामान्य सुधार देखिएको हो ।

आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*