पुराना र कुच्चिएका जारमा पानी बेच्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । बजारमा पुराना, कुच्चिएका, टालिएका र अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ।
विशेषगरी गर्मी र वर्षायाममा पानीजन्य रोगहरूको संक्रमण फैलने उच्च जोखिम हुने भएकाले विभागले पिउने पानीको स्वच्छता र गुणस्तरमा कडाइ गर्ने तयारी गरेको जनाएको छ।
विभागका अनुसार मापदण्डविपरीतका जार प्रयोग गर्दा पानीको गुणस्तर कायम नहुने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ। यस्ता जारहरू सफा गर्न कठिन हुने हुँदा पानी दूषित हुने सम्भावना उच्च रहने उल्लेख गरिएको छ।
विभागले पानी उत्पादक, ढुवानीकर्ता तथा बिक्रेताहरूलाई प्रशोधित पिउने पानी उत्पादन तथा बिक्रीवितरण गर्दा तोकिएको गुणस्तर मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै, पुराना, कुच्चिएका, टालिएका, चुहिएका वा भित्रको पानी स्पष्ट नदेखिने (अपारदर्शी) जारहरू तत्काल हटाउनुपर्ने बताइएको छ।
निर्देशनको उल्लंघन गरी असुरक्षित रूपमा पानी उत्पादन वा बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

Screenshot












