ग्रामीण विकास लघुवित्तको नाफासँगै बढ्यो ईपीएस, अन्य सूचक कस्ता?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सोअनुसार गत आवको तुलनामा चालू आवमा नाफा र ईपीएस सहित अधिकांश सूचकमा वृद्धि भएको हो।
गत आवको चैत मसान्तसम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा २२.१९ प्रतिशतको वृद्धि सहित ३० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ। आम्दानीमा उल्लेख्य वृद्धि आएको कारण नाफा बढ्न मद्दत पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८५ करोड ७७ लाख रुपैयाँबाट १८.१० प्रतिशतले बढेर १ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ९३ करोड ९ लाख रुपैयाँबाट १७.९० प्रतिशतले बढेर १ अर्ब ९ करोड ७५ लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि भएको कारण सञ्चालन मुनाफा पनि ३५ करोड १४ लाख रुपैयाँबाट ४७.२१ प्रतिशतले बढेर ५१ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ९७ लाख रुपैयाँ ऋणात्मकबाट ११ करोड ४० लाख रुपैयाँ धनात्मक भएको छ।
यता प्रतिशेयर आम्दानी (ईपीएस) २५.१२ रुपैयाँबाट ३० रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.४२ प्रतिशतबाट ४.९२ प्रतिशत पुगेको छ। बेसरेट १५.०१ प्रतिशतबाट १३.०३ प्रतिशतमा झर्दा प्रतिशेयर नेटवर्थ २९५ रुपैयाँ कायम भएको तथ्यांकले देखाएको छ।
चुक्ता पूँजी १ अर्ब ५३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८० करोड २३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ करोड ८२ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ग्राहकलाई १४ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ कर्जा दिएर ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।












