छायादेवी कम्प्लेक्सविरुद्ध सडकमा सम्पदा अभियन्ता, तत्काल भत्काउन माग

२४ बैशाख २०८३, बिहीबार १४:०१

काठमाडौँ ।  ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सम्पदा संरक्षण अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ। सार्वजनिक सम्पदा संरक्षणप्रति राज्यको उदासीनता बढ्दै गएको भन्दै अभियन्ताहरूले ऐतिहासिक सम्पदा पुनःस्थापनाको मागलाई तीव्र बनाएका छन्।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोलसहितका अभियन्ताहरू बिहीबार माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सार्वजनिक पोखरी जस्तो ऐतिहासिक सम्पदा क्षेत्रलाई मासेर व्यावसायिक भवन निर्माण गर्नु गम्भीर गलत अभ्यास भएको भन्दै तत्काल संरचना हटाउनुपर्ने माग राखेका छन्।

प्रदर्शनका क्रममा अभियन्ताहरूले सर्वोच्च अदालततर्फ संकेत गर्दै नाराबाजीसमेत गरेका थिए। उनीहरूको भनाइमा सम्पदा संरक्षणसम्बन्धी कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा ऐतिहासिक स्थलहरू क्रमशः हराउँदै गएको अवस्था देखिएको छ।

अभियन्ताहरूले सार्वजनिक सम्पदा क्षेत्रलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नुले शहरी सम्पदा संरक्षण नीतिमाथि गम्भीर प्रश्न उठाएको दाबी गरेका छन्। उनीहरूले यदि यस्ता अभ्यास रोक्न सकिएन भने भविष्यमा अन्य ऐतिहासिक सम्पदा क्षेत्रहरू पनि जोखिममा पर्ने चेतावनी दिएका छन्।

सम्पदा संरक्षण अभियानले राज्यले तत्काल हस्तक्षेप गरेर छायादेवी कम्प्लेक्स हटाउन र कमलपोखरीको ऐतिहासिक स्वरूप पुनःस्थापना गर्नुपर्ने मागलाई निरन्तर अघि बढाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*