पुँजी बजारमा झिनो सुधारः कारोबार २ अर्ब ९३ करोडमा सीमित, लगानीकर्ताको मनोबल यस कारण कमजोर

काठमाडौँ । पछिल्लो समय लगातार उतार–चढाव देखिरहेको शेयर बजार बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको गिरावटपछि देखिएको यो सुधारले बजारमा केही राहतको संकेत गरे पनि समग्र प्रवृत्ति अझै पनि कमजोर नै रहेको विश्लेषकहरूको भनाइ छ । निरन्तरको अस्थिरताका कारण लगानीकर्तामा उत्साहभन्दा बढी सतर्कता देखिन थालेको छ ।
पछिल्ला केही सातादेखि शेयर बजार सुस्त गतिमा अघि बढिरहेको छ । कारोबारमा उल्लेखनीय वृद्धि नदेखिनुका साथै सूचकांक पनि सीमित दायरामै घुमिरहेको छ। बजार सहभागितामा कमी आउनु र ठूलो परिमाणमा लगानी आकर्षित हुन नसक्नुले बजारको समग्र मनोबल कमजोर बनेको स्पष्ट संकेत दिएको छ । यसले दीर्घकालीन लगानीकर्तासमेत ‘पर्ख र हेर’ को अवस्थामा पुगेको देखिन्छ ।
बजारमा देखिएको निराशाको प्रमुख कारणमध्ये एक नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन अवस्थामा रहनु रहेको सरोकारवालाहरू बताउँछन्। नेतृत्व रिक्तता र नीति निर्माण प्रक्रियामा देखिएको ढिलाइले बजारमा आवश्यक नीतिगत स्पष्टता नआएको भन्दै लगानीकर्ताहरू अन्योलमा परेका छन्। यसले नयाँ निर्णय र सुधारको अपेक्षामा रहेको बजारलाई थप सुस्त बनाएको टिप्पणी गरिएको छ।
त्यसैगरी, पछिल्लो समय केही प्रभावशाली व्यवसायीहरू पक्राउ परेपछि पनि बजारमा मनोवैज्ञानिक दबाब परेको देखिन्छ। यस्तो घटनाले लगानीकर्तामा अनिश्चितता बढाएको र जोखिम न्यूनीकरणका नाममा बिक्री चाप बढेको विश्लेषण छ। परिणामस्वरूप बजारमा अस्थिरता अझै गहिरिएको र सूचकांकमा नकारात्मक प्रभाव परेको देखिन्छ।
यद्यपि वित्तीय क्षेत्रका आधारभूत सूचकहरू भने कमजोर नरहेको बताइन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणले अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखाए पनि त्यसको सकारात्मक प्रभाव बजारमा प्रत्यक्ष रूपमा देखिएको छैन। ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले दीर्घकालमा बजारलाई टेवा दिने अपेक्षा गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अकंले बढेर २७१८.१६ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाखको कारोबार भएको हो ।
यसदिन ५ उपसूचक घटेको छ भने ८ उपसूचकमा सुधार देखिएको हो ।

आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












