धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टको राजीनामा

२४ बैशाख २०८३, बिहीबार १७:१०

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अन्योलमा परेको छ । अध्यक्ष चयनका लागि गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्ट ले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले बोर्ड अध्यक्षका आकांक्षीमध्ये आफ्नै दाजु पर्ने गोपाल भट्ट पनि उम्मेदवार रहेकाले ‘स्वार्थको द्वन्द्व’ उत्पन्न हुन सक्ने भन्दै समितिबाट अलग हुने निर्णय गरेका हुन् ।

बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उम्मेदवारसँग पारिवारिक सम्बन्ध रहेका कारण छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने ठहर गर्दै संयोजक भट्टले राजीनामा दिएको स्रोतले जनाएको छ ।

सरकारले केही समयअघि डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । कानुनी व्यवस्था अनुसार समितिले आवेदन दिएका उम्मेदवारमध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

संयोजक भट्टको राजीनामासँगै रोकिएको प्रक्रिया अब नयाँ संयोजक नियुक्तिपछि मात्रै अघि बढ्ने भएको छ । लामो समयदेखि नेतृत्वविहीन बन्दै आएको सेबोनमा अध्यक्ष नियुक्ति प्रक्रिया फेरि ढिलिने संकेत देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*