३ व्यवसायी फर्मलाई उपभोक्ता ऐन उल्लङ्घनमा ७५ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने तीन वटा व्यावसायिक फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।
विभागले बिहीबार काठमाडौँ उपत्यकामा गरिएको अनुगमनका क्रममा उपभोक्ता हित विपरीत कार्य गरेको पाइएपछि ती फर्महरूलाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेका व्यवसायमध्ये काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुमा रहेको लुगा जुत्ता प्रालिलाई ५० हजार रुपैयाँ, सोही क्षेत्रको पूजा शृङ्गारलाई १० हजार रुपैयाँ र नयाँ बानेश्वरस्थित श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। कुल ७५ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो।
विभागका अनुसार ती व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिमका प्रावधान उल्लङ्घन गरेको, निर्देशनको पालना नगरेको तथा अनुचित व्यापारिक अभ्यासमा संलग्न रहेको पाइएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा मूल्यसूची नराख्ने, उपभोक्तालाई आवश्यक जानकारी नदिने, तथा व्यापारिक मापदण्ड विपरीतका गतिविधि गरेको जस्ता कमजोरीहरू भेटिएको विभागले जनाएको छ।
यसैबीच, विभागले अन्य १० वटा उद्योग तथा फर्मलाई भने तत्काल सुधार गर्न निर्देशन दिएको छ।












