धेरैपछि पुँजी बजारमा हरियालीः कारोबार रकम भने अझै सुस्त, के छन् अझै बढ्ने आधार ?

२५ बैशाख २०८३, शुक्रबार १५:०९

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय देखिएको सुधारले आज पनि निरन्तरता पाएको छ । हिजो सामान्य अंकले उकालो लागेको बजार आज दोहोरो अंकले बढ्दै हरियो संकेतमा बन्द भएको हो । केही दिनदेखि सुस्त र दिशाहीन जस्तै देखिएको बजारमा आजको सुधारले अलिकति भए पनि सकारात्मक आशा जगाएको छ । तर, सूचक बढेपनि कारोबार रकम भने अपेक्षाकृत कमजोर नै देखिएको छ जसले बजारको गति अझै पूर्ण रूपमा सम्हालिन नसकेको संकेत गरेको हो ।

पछिल्ला केही सातादेखि शेयर बजार लगातार उतार–चढावको चक्रमा फसेको देखिन्छ । कारोबार रकममा उल्लेखनीय वृद्धि नआउनु र नेप्से सूचक पनि सीमित दायराभित्रै घुमिरहनुले बजारको समग्र मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ । नयाँ लगानीकर्ताको प्रवेश घट्दै जानु र पुराना लगानीकर्तासमेत सक्रिय नहुनुले बजार ‘पर्ख र हेर’ को अवस्थामा पुगेको छ, जसले दीर्घकालीन स्थायित्वमा प्रश्न उठाएको छ ।

बजारमा देखिएको यो सुस्तताको पछाडि नीतिगत अन्योललाई प्रमुख कारणका रूपमा हेरिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहँदा बजारमा आवश्यक निर्णय र सुधार प्रक्रियामा ढिलाइ भइरहेको सरोकारवालाहरू बताउँछन् । स्पष्ट नीति र नेतृत्वको अभावले लगानीकर्तामा अनिश्चितता बढाएको छ, जसको प्रत्यक्ष असर कारोबारमा देखिएको छ ।

त्यसैगरी, पछिल्लो समय केही प्रभावशाली व्यवसायीहरू पक्राउ परेपछि बजारमा मनोवैज्ञानिक दबाब थपिएको देखिन्छ । यसले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको र जोखिम न्यूनीकरणका नाममा बिक्री चाप बढाएको विश्लेषण छ । परिणामस्वरूप बजारमा अस्थिरता कायम रहँदै सूचकमा निरन्तर दबाब परेको छ, जसले समग्र लगानी वातावरणलाई अझै अनिश्चित बनाएको छ ।

यद्यपि आधारभूत पक्षमा भने धेरै कमजोरी देखिएको छैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता क्रमशः सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले दीर्घकालमा बजारलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । त्यसैले तत्कालीन अस्थिरताबीच पनि दीर्घकालीन दृष्टिले बजारप्रति आशा कायम रहेको विश्लेषकहरूको भनाइ छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४९ अकंले बढेर २७४५.६५ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको मात्रै घटेको हो । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*