आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो, आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा कुल आम्दानीमा उल्लेखनीय सुधार गरेको देखिएको छ।
कम्पनीको बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.७० प्रतिशतले वृद्धि भएर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बीमा कोषमा भएको उल्लेखनीय वृद्धिले कम्पनीको व्यवसाय विस्तार तथा जोखिम वहन क्षमता बलियो बन्दै गएको देखिन्छ।
त्यसैगरी कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको खुद बीमाशुल्क आर्जन ९२ करोड ९१ लाख रुपैयाँको तुलनामा १२.१४ प्रतिशतले बढी हो। बीमा व्यवसाय विस्तारसँगै कम्पनीको बजार पहुँच पनि क्रमशः विस्तार भइरहेको देखिएको छ।

यस अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा २.९८ प्रतिशतले बढी हो। यद्यपि लगानी तथा कर्जाबाट हुने आम्दानी भने घटेर १४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै कम्पनीको अभिकर्तालाई दिइने कमिसन खर्च ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कुल खर्च पनि वृद्धि भएर १ अर्ब ५७ करोड २७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
यद्यपि समीक्षा अवधिसम्म कम्पनीले ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्षको तुलनामा ९९.८३ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जेनजी आन्दोलन र बाढी पहिरोका कारण ठूलो मात्रामा दाबी परेपछि नाफामा तीव्र दबाब उत्पन्न भएको हो।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ कायम रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँबाट घटेर ०.०२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम भएको छ।












