सूर्याेदय वोमी लघुवित्तको नाफामा उछाल, अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा, सञ्चालन मुनाफा, प्रतिशेयर आम्दानी तथा खुद ब्याज आम्दानीलगायतका प्रमुख सूचकमा सुधार देखिएको हो।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले १८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको नाफा ७ करोड ८६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा संस्थाको नाफा करिब १४१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष ४८ करोड ५९ लाखरुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यस वर्ष ६६ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद शुल्क तथा कमिसन आम्दानी पनि ९ करोड ९९ लाख रुपैयाँबाट बढेर १० करोड ४८ लाख रुपैयाँ पुगेको छ।
संस्थाको कुल सञ्चालन आम्दानी ५८ करोड ५८ लाख रुपैयाँबाट बढेर ७६ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड २४ लाख रुपैयाँबाट वृद्धि भएर २७ करोड ५ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा १४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा रहेकोमा यस वर्ष बढेर २२ रुपैयाँ ८२ पैसा पुगेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७१ पैसा कायम भएको विवरणमा उल्लेख छ।
संस्थाको चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा जगेडा कोष ४० करोड ६३ लाख रुपैयाँ मात्रै रहेको थियो। कर्जा विस्तारतर्फ पनि संस्था सक्रिय देखिएको छ। ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी १ अर्ब १८ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै ग्राहक निक्षेप ५ अर्ब ३९ करोड ९० लाख रुपैयाँबाट बढेर ६ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ नाघेको छ।
यता निष्क्रिय कर्जा अनुपात (एनपीएल) ५.२६ प्रतिशतबाट बढेर १७.९० प्रतिशत पुगेको देखिन्छ जुन चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ। यद्यपि आधार दर १३.६३ प्रतिशतबाट घटेर १२.३२ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर ६.८० प्रतिशतबाट बढेर ७.९५ प्रतिशत पुगेको छ।












