सलिकोको आम्दानी बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ४७ प्रतिशतले घटेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बीमा व्यवसायबाट हुने मुख्य आम्दानी भने सुधारिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ जबकि गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीको कुल आम्दानी सामान्य बढेर २ अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस्तो आम्दानी २ अर्ब ९ करोड १३ लाख रुपैयाँ थियो। तर खर्च उल्लेख्य रूपमा बढेका कारण पनि नाफामा दबाब परेको देखिन्छ। कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ थियो।
सलिकोको प्रति शेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत वर्ष १२ रुपैयाँ ८१ पैसा रहेको ईपीएस घटेर अहिले ६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८९ दशमलव ६३ गुणा कायम भएको छ।
कम्पनीको कुल सम्पत्ति बढेर १४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति १४ अर्ब ७२ करोड ८ लाख रुपैयाँ रहेको थियो। चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात ३.३१ गुणा कायम रहेको छ।












