यूएईका घाइते र मृतक नेपाली श्रमिकको परिवारले बीमाको रकम पाएनन्, सरकारलाई ध्यानाकर्षण

काठमाडौं । यूएईमा रोजगारीमा शिलशिलामा गएका नेपाली श्रमिकहरुले रोजगारीको क्रममा दुर्घटना तथा ज्यान गुमाउनु परेका श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमाबाट पाउने रकम पाउन सकेका छैनन् ।
यूएईको अवुधावीस्थित नेपाली दूतावासले पनि श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमको बिषयमा समयमा ध्यान नदिँदा उक्त रकम पाउन सकेका छैनन् ।
मृतक श्रमिकको परिवारले यूएईमा रहेका नेपालीहरूको संस्था ‘नेपाली समाज यूएई’ले यस बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, पार्षद अध्यक्ष कमल गिरी र महासचिव जीवन पंगेनीले संयुक्त रूपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), परराष्ट्रमन्त्री शिशिर खनाल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पत्र पठाउँदै पीडित परिवारले कानुनी रूपमा पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउने पहल गर्न माग गरेका छन् ।
नेपाली दूतावास अबुधाबी मार्फत पठाइएको पत्रमा विगत पाँचदेखि सात वर्षयता विभिन्न दुर्घटना, कार्यस्थलका घटनाहरू तथा सडक दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएका नेपाली श्रमिकका परिवार अझै न्यायबाट वञ्चित रहेको उल्लेख छ।
पत्रमा झापाका ख्यामराज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेका लक्ष्युराम तामाङ, रोल्पाका रामबहादुर ओली र स्याग्जाका दिपेश रेग्मी क्षेत्रीको नाम उल्लेख गर्दै उनीहरूका परिवारले अदालतबाट निर्णय भइसकेपछि पनि क्षतिपूर्ति रकम प्राप्त गर्न नसकेको जनाइएको छ।
नेपाली समाज यूएईका अनुसार पत्रमा केही प्रतिनिधिमूलक घटना मात्र सार्वजनिक गरिएको हो । क्षतिपूर्ति र बीमा पाउनुपर्नेहरू यस्तै प्रकृतिका सयौं मुद्दा अलपत्र अवस्थामा छन्।
अध्यक्ष मोक्तानका अनुसार यूएईका अदालतले फैसला गरिसकेका तथा बीमा कम्पनीले रकम भुक्तानी गर्नुपर्ने धेरै घटनामा आवश्यक समन्वय र कूटनीतिक पहल नहुँदा पीडित परिवारले समयमा राहत पाउन सकेका छैनन्।
नेपाली समाज यूएईले स्थानीय अदालतमा विचाराधीन मुद्दाको कानुनी प्रक्रियालाई तीव्र बनाउन तथा फैसला भइसकेका घटनामा रकम असुलीका लागि नेपाल सरकार, दूतावास र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।













