‘ट्रेड युनियनमाथि बन्देज असंवैधानिक’ भन्दै आईएलओमा उजुरी

२७ बैशाख २०८३, आईतवार १५:५३

काठमाडौं । खारेज गरिएका निजामती कर्मचारी सङ्गठनहरूले सरकारले जारी गरेको अध्यादेशविरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) समक्ष औपचारिक उजुरी दर्ता गरेका छन् । उनीहरूले ट्रेड युनियनसम्बन्धी अधिकारमा लगाइएको प्रतिबन्ध असंवैधानिक तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डविपरीत भएको दाबी गरेका छन् ।

विघटित नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालका अनुसार उजुरी स्वीजरल्यान्डको जेनेभास्थित आईएलओ मुख्यालयमा पठाइएको हो । उक्त उजुरीमा नेपालमा सक्रिय विभिन्न ट्रेड युनियन सङ्गठनहरूको संयुक्त सहभागिता रहेको उनले बताइन् ।

सरकारले हालै जारी गरेको अध्यादेशमार्फत सरकारी कार्यालय तथा निकायभित्र हुने ट्रेड युनियन गतिविधिमाथि पूर्ण रोक लगाएको थियो । त्यसको विरोध गर्दै कर्मचारी सङ्गठनहरूले नेपाल आईएलओको अभिसन्धीमा हस्ताक्षरकर्ता मुलुक भएकाले श्रमिक तथा कर्मचारीको सङ्गठित हुने अधिकार कानुन बनाएर नै कटौती गर्न नमिल्ने तर्क अघि सारेका छन् ।

उजुरी दर्तापछि आईएलओको नेपाल कार्यालयले विभिन्न कर्मचारी तथा ट्रेड युनियन प्रतिनिधिसँग छलफल गरिसकेको दाहालले जानकारी दिइन् । सो क्रममा नेपाल सरकारलाई पनि विषयबारे जानकारी गराउँदै पत्राचार गरिएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*